नेपालको 'होर ई–स्पोर्ट्स' टोलीले साउदी अरबमा आयोजित पब्जी विश्वकप २०२5 मा उत्कृष्ट प्रदर्शन गर्दै नवौँ स्थान हासिल गरेको छ। जुलाई २५ देखि २३ तारिखसम्म सञ्चालन भएको फाइनल चरणमा १६ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
होर टोलीले १८ खेलमा कुल १०० अंक जोड्दै नवौँ स्थान प्राप्त गर्यो। यस प्रदर्शनको आधारमा टोलीले १ लाख २७ हजार ५०० अमेरिकी डलर (झण्डै १ करोड ७८ लाख नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ।
टोलीमा नेपालका आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले सहभागिता जनाएका थिए। म्यानेजरको भूमिकामा उमेश बुढथापा तथा अफिसियलको रूपमा सञ्जन गौतम र नवराम श्रेष्ठ रहेका थिए।
यस पटकको विश्वकपको उपाधि म्यानमारको ‘वाइजी ई–स्पोर्ट्स’ टोलीले जितेको हो। झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा वाइजी टोलीले करिब ७ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स मञ्चमा थप परिचित बनाएको छ।