शनिबार र आइतबारको अबिरल वर्षाले गुल्मीको चन्द्रकोट गाउँपालिका–१ स्थित दिव्रुङ्ग स्वास्थ्यचौकी पूर्ण रूपमा पहिरोले पुरिएको छ। भवनमा पसेको पहिरोले प्रसूति कक्ष पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने अन्य सामग्रीहरूमा पनि व्यापक क्षति पुगेको छ।
स्वास्थ्यचौकीका अहेव जीवन पुन मगरका अनुसार, हाल प्रसूति सेवासहित अन्य नियमित सेवा प्रवाह गर्न सक्ने अवस्था छैन। भवन अझैपनि पहिरोको उच्च जोखिममा रहेकोले सेवा रोकिएको बताइएको छ।
दैनिक औसत २० जना सेवाग्राही आउने यस स्वास्थ्यचौकीको नयाँ भवन निर्माणको काम अझै नसकिएकाले सबै सेवा पुरानो संरचनाबाट सञ्चालन हुँदै आएको थियो।
चन्द्रकोट–१ का वडाध्यक्ष घनश्याम खरेलले प्रहरी र गाउँपालिका कार्यालयसँग समन्वय गरी अवस्था मूल्यांकनपछि सेवा सञ्चालनका उपाय अपनाइने जानकारी दिएका छन्।
यसैबीच, लगातारको वर्षासँगै आएको पहिरोले गुल्मीको कालिगण्डकी करिडोर र रिडी–रुद्रवेणी–वामी सडकका विभिन्न स्थानहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगा बहादुर सारुले रिडी–तम्घास सडक सञ्चालनमा रहेपनि अन्य अवरुद्ध सडक खोल्न प्रयास जारी रहेको बताए। यात्रुहरू बाटो बन्द हुँदा ठूलो सास्तीमा परेका छन्।