नवलपरासीको बर्दघाटमा आज बिहान भएको एक बस दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्।
बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई पल्टिँदा एक पुरुषको मृत्यु भएको हो। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।
गम्भीर घाइते अवस्थामै चिसापानी अस्पताल पुर्याइएका उक्त पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अन्य घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो। बाँकी घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्राथमिक अनुसन्धानअनुसार बसले अगाडि गइरहेको अटोरिक्सालाई जोगाउने प्रयासमा अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको बताइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।