सर्लाही जिल्लाको उत्तरवर्ती क्षेत्र ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। ५० वर्षीया सीता परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न गएकी बेला विषालु गोमन सर्पले दुईपटक खुट्टामा डसेको थियो।
घटनापछि परियारलाई तत्काल नवलपुर सर्पदंश उपचार केन्द्र लगिएको थियो। तर, त्यहाँ भेन्टिलेटर र आइसियु सुविधासहितको दक्ष जनशक्ति नभएकाले उनको अवस्था गम्भीर भएपछि जनकपुर रेफर गरिएको ईश्वरपुर–१२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले जानकारी दिनुभयो। जनकपुर लैजाँदै गर्दा बाटोमै परियारको मृत्यु भएको हो।
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार परियारलाई चिन्ताजनक अवस्थामा ल्याइएको थियो। उनलाई १० भाइल एन्टीस्नेक भेनम दिइए पनि शारीरिक प्रतिक्रिया अत्यन्तै कमजोर रहेकाले थप उपचार सम्भव नभई रेफर गरिएको थियो। बोली स्पष्ट नहुने, थुक्न नसक्नेजस्ता लक्षण देखिएको उहाँको भनाइ छ।
यसअघि पनि बागमती नगरपालिका–११, कर्मैयामा फर्सी टिप्न गएकी एक महिलाको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो।
हाल गर्मीको मौसमका कारण तराई–मधेशका क्षेत्रमा विषालु सर्पको सक्रियता अत्यधिक रूपमा बढेको छ। समयमै उपचार सुविधा नहुँदा ग्रामीण क्षेत्रका नागरिकको ज्यान जोखिममा पर्दै गएको देखिन्छ। यसले विषालु सर्पदंश उपचार केन्द्रहरूको पूर्वाधार र जनशक्तिमा थप लगानी आवश्यक रहेको स्पष्ट संकेत गर्दछ।