ट्रेन्डिङ

Logout

रुसको क्याम्चाट्कामा ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको खतरा

4.4k Shares

बुधबार रुसको सुदूरपूर्व क्याम्चाट्का प्रायःद्वीपमा ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भसम्बन्धी संस्था यूएसजीएसका अनुसार यो भूकम्प पछिल्लो समयको अत्यन्त शक्तिशालीमध्ये एक हो, जसको केन्द्रविन्दु पूर्वी तटीय क्षेत्रमा थियो।

भूकम्पपछि रुस र आसपासका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानको पूर्वी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्न आदेश दिइएको छ। त्यहाँ समुद्रको छाल करिब चार मिटरसम्म उचालिन सक्ने अनुमान गरिएको छ।

जापानको होक्काइडो प्रान्त अन्तर्गतको तटीय सहर नेमुरोमा पहिलो सुनामी लहर आएको पुष्टि गरिएको छ। जापानी सञ्चार संस्था एनएचकेका अनुसार पहिलो लहरको उचाइ करिब १२ इन्च (लगभग ३० सेमी) मापन गरिएको छ। तर, जापानी अधिकारीहरूले आगामी लहरहरू अझै उचाइमा हुने चेतावनी दिएका छन्।

रुसी भौगर्भिक निकायका अनुसार यो भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली रहेको छ।

गत १० दिनमा क्याम्चाट्का क्षेत्रमा लगातार भूकम्पको श्रृंखला चलेको जनाइएको छ। मात्र जुलाई २० तारिखमा पाँच वटा भूकम्प मापन गरिएको थियो। यस्तो निरन्तरको भूकम्पीय गतिविधिले क्षेत्रीय जोखिमलाई अझ बढाएको छ।

प्रभावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार