गत असोजमा आएको बाढीले खोटाङ र उदयपुर जोड्ने फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पुल बगाएपछि विकल्पका रूपमा सुनकोशी नदीमा घिर्नी जडान गरिएको छ। पुल बगिएपछि अस्थायी बेलिब्रिज राखिएको थियो, तर बर्खायाममा पानीको बहाव बढेपछि जेठ महिनामा बेलिब्रिज पनि हटाउनुपर्यो।
सिधा यातायात अवरुद्ध भएपछि निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ल्याउन खोटाङ र उदयपुरको सीमास्थित सुनकोशीमा घिर्नी जडान गरिएको हो। रसुवा–पानधारे सडक निर्माणका लागि आवश्यक सामग्री ल्याउन सुरु गरिएको यो वैकल्पिक माध्यमले खोटाङका बासिन्दालाई राहत दिएको छ।
निर्माण व्यवसायी महेश रेग्मीका अनुसार साउन ८ गते घिर्नीको परीक्षण गरिएको हो, जसलाई अब केही दिनभित्रै पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ। इटहरीबाट ल्याइएका प्राविधिकले परीक्षण गरेपछि स्थानीयलाई सञ्चालनका लागि प्रशिक्षण दिइरहेका छन्।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १२ वर्षमा मात्र निर्माण सम्पन्न भएको पक्की पुल बाढीले दुई वर्षमै बगाएपछि फोक्सिन्टार फेरि वैकल्पिक माध्यममा निर्भर हुनुपरेको हो। हाल संघीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भए पनि नयाँ पुल निर्माणको ठेक्का अझै खुलिसकेको छैन।
वर्षाका कारण वैकल्पिक सडक पनि बन्द हुँदै गएपछि घिर्नी नै तत्कालको लागि एकमात्र विकल्प बनेको छ। यसले निर्माण सामग्रीसँगै उपभोग्य वस्तु ढुवानी गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।