देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाद्वारा कृषकहरूका लागि वितरण गरिएको सिचाइ मोटरमा गम्भीर प्राविधिक त्रुटि देखिएको छ। वितरणपछिको प्रयोगका क्रममा किसानहरूले मोटरमा करेन्ट आउने, ‘फोल्ड’ देखिने तथा अन्य समस्या अनुभव गरेपछि पालिकाको ध्यानाकर्षण भएको हो।
यस घटनासँग सम्बन्धित रुपमा २०७८/०५/०४ मा कृषि विकास शाखाबाट जारी सूचनामा स्पष्ट रूपमा मोटर वितरण स्थगन गरिएको उल्लेख गरिएको छ। वितरणस्थलमा मोटरको पार्ट्स खराबी देखिएपछि अर्को सूचना नआएसम्म वितरण रोकिएको जानकारी दिइएको छ।
त्यस्तै, २०७८/०५/०४ कै मितिमा पालिका कार्यालयबाट मोटर सप्लायर्स DRMS SUPPLY & MSC को नाममा अर्को पत्रमार्फत ‘करेन्ट प्रवाह हुने’, ‘मोटर चल्दा हल्लिने’ र ‘पार्ट्समा समस्या’ देखिएको भन्दै सो मोटर फिर्ता लिई गुणस्तरीय मोटर उपलब्ध गराउन निर्देशन दिइएको छ।
पालिका अध्यक्ष वेचनप्रसाद मेहताले समस्याको गम्भीरता बुझ्दै सम्बन्धित मोटर आपूर्तिकर्ता कम्पनीका प्राविधिकहरूलाई कार्यालयमा बोलाएर छलफल गर्न निर्देशन दिनुभएको छ। उहाँले किसानहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै दोषपूर्ण सामग्री वितरण गर्नेलाई कारबाहीको चेतावनीसमेत दिनुभएको छ।
कृषि विकास शाखाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित पत्रमार्फत पालिकाले स्पष्ट रूपमा भनेको छ, “सञ्चालनका क्रममा करेन्ट आउने, मोटर हल्लिने र पार्ट्समा समस्या देखिएकोले आपूर्तिकर्ताले तुरुन्त यथासम्भव समाधान गर्नु पर्नेछ।”