सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ मा रहेको मधुगंगा महादेव मन्दिर परिसरमा तीर्थयात्राका क्रममा पुगेका तीर्थयात्रीहरूबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ। सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा बसेका करिब १० जना तीर्थयात्रीहरूबीच विवाद उत्पन्न भई झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। झगडाका क्रममा तीर्थयात्रीहरूमध्ये एक जनामाथि चक्कु प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा पठाइएको छ। स्थानीय बासिन्दा झगडाको आवाज सुनि घटनास्थलतर्फ जाँदै गर्दा चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेको बताइएको छ। हाल प्रहरी हत्यामा संलग्न व्यक्तिहरूको खोजी कार्यमा जुटिरहेको छ। धार्मिक स्थलजस्तो शान्त वातावरणमा यस्तो हिंसात्मक घटना हुनु निकै दुःखद र चिन्ताजनक भएको भन्दै सुरक्षालाई थप सुदृढ बनाउनुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ।
4.6k
Shares


