ट्रेन्डिङ

Logout

छाउगोठ बनाउनेलाई सुविधा कटौतीको चेतावनी : गृहमन्त्री लेखक

4.9k Shares

गृहमन्त्री रमेश लेखकले छाउगोठ निर्माण गरी महिनावारी भएका महिलालाई त्यहाँ बस्न बाध्य पार्ने व्यक्तिहरूलाई स्थानीय तहबाट पाउने सुविधामा पुनर्विचार गरिने चेतावनी दिनुभएको छ।

आज अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेर देशभरका स्थानीय तहहरूलाई यस्तो खालको परिपत्र पठाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो।

“महिनावारीको विषयमा अझै ठूलो अन्धविश्वास रहेको छ,” उहाँले भन्नुभयो, “यो सोचको अन्त्यका लागि अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग आवश्यक छ।”

महिलामाथि हुने हिंसा, बलात्कारलगायत घटनालाई सरकारले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो। “महिलाको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षाप्रति गम्भीर छु,” मन्त्री लेखकले भन्नुभयो, “अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको छ।”

भेटमा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरी नेतृत्वको टोलीले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा र विभेदका घटनाबारे ज्ञापनपत्र बुझाउँदै नियन्त्रणको माग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार