ट्रेन्डिङ

Logout

गुल्मीमा पूर्वसूचना प्रणाली बिग्रँदा विपत् व्यवस्थापनमा चुनौती

6.1k Shares

गुल्मीमा विपत्को पूर्वसूचना प्रदान गर्न २०७८ मा जडान गरिएको साइरन प्रणाली अहिले प्रयोगविहीन भएको छ। उपकरणको मर्मत नहुँदा यी अति संवेदनशील पूर्वसूचना प्रणालीले काम गर्न छोडेका छन्। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार बडीगाड नदी किनारलगायत जोखिमयुक्त क्षेत्रमा यी प्रणाली जडान गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार, मुसीकोट नगरपालिकाको बामी र इन्द्रेगौँडा, चन्द्रकोटको मजुवा र चोरकाटे, सत्यवतीको रुद्रवेणी, रुरुक्षेत्र गाउँपालिकाको रिडी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको ब्यारेक र जिल्ला प्रशासन कार्यालयमा साइरन जडान गरिएको थियो। मोबाइल नम्बरमार्फत तत्काल साइरन बजाउन सकिने व्यवस्था भए पनि अहिले यी प्रणाली बिग्रिएर सूचना दिन असमर्थ छन्।

मौसम पूर्वानुमानअनुसार यो वर्ष लुम्बिनी प्रदेश बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान छ। जिल्ला विपत् व्यवस्थापन समितिले २२ हजारभन्दा बढी नागरिक बाढीपहिरोको जोखिममा रहेको पहिचान गरे पनि साइरन प्रणाली मर्मत र चुस्त राख्न सकिएको छैन। निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बजेट अभावका कारण मर्मत कार्य गर्न नसकिएको बताए। उनले भने, “मर्मतका लागि धेरै खर्च लाग्ने र व्यवसायीसँग समन्वय गर्दा पनि समस्या भएको छ।”

पूर्वसूचना प्रणालीले जोखिम मूल्याङ्कन, पूर्वानुमान, निरीक्षण र सञ्चारमा महत्त्वपूर्ण भूमिका खेल्छ। जिल्लामा दुई सय स्थान बाढीपहिरोको जोखिममा छन्, तर स्थानीय तहहरू विपत् व्यवस्थापन समितिमा संवेदनशील नहुँदा प्रणाली व्यवस्थित गर्न सकिएको छैन।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कालीगण्डकी नदीले रिडी बजार डुबानको जोखिममा रहेको र साइरन मर्मतका लागि प्रशासनले प्राविधिक खोजेमा खर्च साझेदारी गर्न तयार रहेको बताए। सत्यवती गाउँपालिका–५, जोहाङका किशोर केसीले उल्लीखोला, शाहाघाट, रुद्रवेणी, भुवाचिदीलगायत रिडी बजार बाढीको जोखिममा रहेको उल्लेख गर्दै सरकारमा बजेटभन्दा संवेदनशीलताको कमी भएको गुनासो गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार