ट्रेन्डिङ

Logout

नेपाल प्रिमियर लिग (एनपीएल) को छानबिनमा क्यानलाई कडा निर्देशन

5.8k Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आयोजनासँग सम्बन्धित अनियमितताको विषयमा छिटो र स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ। कार्यदलले आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन नसकिएसम्म एनपीएलको दोस्रो संस्करणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न कडा चेतावनी दिएको छ।

यसअघि पनि कार्यदलले क्यानसँग विभिन्न प्रश्नहरू सोधेको थियो, तर जवाफ चित्तबुझ्दो नआएपछि कडा भाषामा पत्र लेखिएको हो। पत्रमा भनिएको छ, “अख्तियारमा परेको उजुरीबारे स्पष्ट जवाफ पेश गरी छानबिनमा सहयोग गर्नुहोस्। छानबिन नसकिएसम्म एनपीएलसम्बन्धी कुनै कार्य नगर्नू।”

कार्यदलकी संयोजक रञ्जना प्रधानले मन्त्रालयको निर्देशनमा छानबिन भइरहेको र प्रतिवेदन मन्त्रालयमा बुझाइने बताइन्। राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने यो विषय मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र राखेपको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारे।

एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरको टीयू मैदानमा सफलतापूर्वक आयोजना भएको थियो। तर, आर्थिक अनियमितता र हिसाबकिताब सार्वजनिक नभएको भन्दै अख्तियारमा उजुरी परेको छ। क्यानभित्रैका सदस्यहरूले पनि नेतृत्वलाई जवाफ मागेका छन्।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले कार्यदलको पत्र प्राप्त भएको र जवाफ तयार गर्न सचिव पारस खड्कालाई जिम्मा दिएको बताए। उनले जुलाई अन्तिममा बोर्ड बैठक बसी सबै कुरा सार्वजनिक गरिने र दोस्रो संस्करण भव्य हुने दाबी गरे।

यसअघि २०८२ जेठ २६ मा पनि कार्यदलले क्यानलाई कागजात मागेको थियो, तर जवाफ अपूर्ण भएपछि असार २२ मा पुनः पत्र पठाइएको हो। कार्यदलले मागअनुसार स्पष्ट जवाफ नआए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

एनपीएलको पहिलो संस्करणले अन्तर्राष्ट्रिय चर्चा कमाए पनि आन्तरिक विवादका कारण दोस्रो संस्करण तोकिएको समयमा हुनेमा शंका उब्जिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार