सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल ठोक्किएर भएको हो। मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो, तर उपचारका क्रममा उनीहरूको मृत्यु भयो। दुर्घटनामा इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।