ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण: अन्तरराष्ट्रिय सम्मेलन र द्विपक्षीय सम्बन्ध विस्तारमा जोड

5.8k Shares

प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउनुहुनेछ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्पेनस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको राससलाई बताउनुभयो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ, जहाँ सहयोग र सम्बन्ध विस्तारसम्बन्धी महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने अपेक्षा छ। साथै, उहाँले स्पेनस्थित नेपाली समुदाय र त्यहाँका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्नुहुनेछ। सम्मेलन अवधिमा अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट पनि हुने दूतावासले जनाएको छ।

स्पेन, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र भएको पश्चिम युरोपेली मुलुक हो, जसको क्षेत्रफल करिब ५,०५,९९० वर्ग किलोमिटर र जनसङ्ख्या लगभग ४ करोड ७४ लाख छ। सन् १९८६ मा युरोपेली सङ्घ र सन् १९९५ मा सेन्जेनको सदस्य बनेको स्पेनमा ८४% स्पेनिस, १.७% मोरक्कन, १.२% रोमानियन र १२.३% अन्य जातजाति छन्।

फुटबलको लागि प्रसिद्ध स्पेनमा २०,००० फुटबल क्लब र १० लाख दर्ता खेलाडी छन्। स्पेनिस भाषा विश्वको चौथो धेरै बोलिने भाषा हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार