Logout

उदयपुरमा दुई युवायुवतीको मृत्यु

559 Shares

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, अमलचौरीमा बुधबार बिहान दुई युवायुवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतकहरू स्थानीय अन्दाजी १४ वर्षीया मन्जु राई र २८ वर्षीय रविन्द्र राई हुन्। मन्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा र रविन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईले शवहरूलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको जानकारी दिनुभयो। घटनाको कारण हालसम्म खुल्न नसकेको उहाँले बताउनुभयो।

मृतक मन्जु चौदण्डीगढी–२ स्थित सिंहदेवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् भने रविन्द्र केही दिनअघि मात्र काठमाडौँबाट घर फर्किएका थिए। दुवै छिमेकी भएको बताइएको छ।

स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर खोजतलास गर्दा दुई सय मिटरको दूरीमा रविन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी केदारमान दोङले घटनाको अनुसन्धान सुरु भएको र शव उठाउन कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सम्बन्धित समाचार