
नेपालका सुनचाँदी व्यवसायीहरूले सुनचाँदीको कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्थाले व्यवसायमा परेको नकारात्मक प्रभावबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षहरूको नेतृत्वमा रहेको टोलीले मङ्गलबार प्रधानमन्त्रीसँग भेट गरी आफ्ना मागहरू प्रस्तुत गरेको हो।
भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागहरूबारे सम्बन्धित निकायसँग छलफल गरी समाधानयोग्य मागहरू पूरा गर्ने आश्वासन दिनुभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले बताउनुभयो। प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रियाले व्यवसायीहरू आशावादी भएको उहाँले उल्लेख गर्नुभयो।
प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयसँग छलफल गरी समस्याको समाधान खोज्ने र सम्भव भएसम्म मागहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वज्राचार्यले जानकारी दिनुभयो।
विलासिता कर लागू हुँदा सुनचाँदी व्यवसाय धराशायी हुने र छिमेकी भारतको तुलनामा नेपालमा भन्सार र करको दर उच्च हुँदा नेपाली व्यवसायीहरूले प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीहरूको भनाइ छ। यी करहरू खारेज गर्नुपर्ने उनीहरूको माग छ।
प्रधानमन्त्रीको सकारात्मक आश्वासनपछि व्यवसायीहरूले बुधबारदेखि सुनचाँदी पसलहरू पुनः सञ्चालन गर्ने निर्णय गरेका छन्। एक हप्तादेखि कर र भ्याट खारेजीको माग राख्दै पसल बन्द गरी विरोध गर्दै आएका व्यवसायीहरूले अब आफ्ना कारोबार सुचारु गर्ने भएका छन्।