देवानगञ्ज। गर्मीयाम तथा वर्षायामको सुरुआतसँगै कीटजन्य रोगको जोखिम बढ्ने हुँदा देवानगञ्ज गाउँपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता रहनुभएको थियो। उहाँले कीटजन्य रोग नियन्त्रणलाई पालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई नियमित रुपमा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। “गर्मी र वर्षायाममा लामखुट्टे, फट्यांग्रा जस्ता किरा सक्रिय हुने समय हो, जसका कारण मलेरिया, डेङ्गु, चिकुनगुन्या, जापानिज इन्सेफालाइटिसजस्ता रोगहरूको जोखिम उच्च हुन्छ,” अध्यक्ष मेहताले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादव, जनस्वास्थ्य निरीक्षक गणेश यादव, वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहता, वडा नं. ७ का अध्यक्ष सूर्यनारायण यादव, वडा नं. ४ का सुशील मेहता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, किसान तथा व्यापारीहरू, ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्ट, सशस्त्र प्रहरी बल, कप्तानगञ्जका नायब निरीक्षक रामजी खत्री लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको क्रममा स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादवले कीटजन्य रोग कसरी सर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो। उहाँले बताए अनुसार कीटजन्य रोगहरू सामान्यतया संक्रमित कीटहरूले मानिसलाई टोकेको वा त्यसको सम्पर्कमा आएको अवस्थामा सर्ने गर्दछ। “लामखुट्टे दिनको समयमा पनि सक्रिय हुनसक्ने भएकाले विशेष सावधानी आवश्यक छ,” उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूलाई कीटजन्य रोग विरुद्ध अपनाउन सकिने उपायहरू जस्तै लामखुट्टे निरोधक झुलको प्रयोग, पानी जम्न नदिनु, सरसफाइमा ध्यान दिनु, कीटनाशक औषधिको प्रयोग र सामुदायिक सतर्कता आवश्यक रहेको सन्देश दिइएको थियो।
प्रहरी निरीक्षक कमल विष्टले सामुदायिक सुरक्षासँग स्वास्थ्य पनि गाँसिएको विषय भएकाले प्रहरी प्रशासन पनि यस्तो सचेतनामूलक अभियानमा सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो। यस्तै, वडा अध्यक्ष हरिनन्दन मेहताले पनि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै घरघरमा जानकारी पुर्याउने प्रतिबद्धता जनाउनुभयाे।
कार्यक्रमको समापनमा अध्यक्ष मेहताले आगामी दिनमा सबै वडामा यस्ता कार्यक्रम विस्तार गरिने र जनस्वास्थ्यलाई सुधार गर्न समुदायस्तरमा प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो।
यस एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले जानकारी लिएर आ-आफ्नो क्षेत्रबाट कीटजन्य रोग नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे। गर्मी तथा वर्षायामको समयमा फैलिन सक्ने रोगहरूको जोखिम न्यूनिकरण गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने जनाइएको छ।