सुनसरी । दर्शन एफ.एम.का पत्रकार धर्मेन्द्र मेहता देवानगञ्ज गाउँपालिका–१, साविक मध्यहर्षाहीस्थित हुलाकी राजमार्गमा भएको सडकीय दुर्घटनामा घाइते भएका छन्।
स्थानीय किसान ब्रहमदेव मेहताले सडक नै जाम हुने गरी मकै सुकाउँदै राखेका थिए। सोही क्रममा पत्रकार मेहता सडकमै सुकाइएका मकैमा चिप्लिएर लडेपछि बायाँ हात भाँचिएको हो।
घटनापछि घाइते मेहताको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार, सडकको एक छेउमा मकै सुकाउने क्रममा अर्को तर्फबाट ट्रक आउँदा पत्रकार मेहता सडकमै चिप्लिएर लडेका थिए।
पत्रकार मेहताले घटनाको जानकारी दिँदै भने, “सडकमै मकै सुकाइएको थियो। त्यसको वरिपरि ढुंगा र सिमेन्टका पिल्लर राखिएकोले बाटो साँघुरिएको थियो। अचानक ट्रक आएपछि मकैमा चिप्लिएर लडेँ र हात भाँचियो।”
मकै सुकाउने किसान ब्रहमदेव मेहतालाई अहिले इलाका प्रहरी कार्यालय हरिनगरामा ल्याइएको छ। घटनापछि स्थानीयबीच आक्रोश देखिएको छ।
पत्रकार मेहताले यस्तो लापरबाहीपूर्ण कामले सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै किसानमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।थप उपचारका लागि विराटनगर मकालु एभरेष्ट अस्पताल लगिएकाे छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।