ट्रेन्डिङ

Logout

८५ वर्षपछि राजविराजमा आधुनिक बसपार्क सञ्चालन, चौथो शिलान्यासपछि निर्माण सम्पन्न

4.4k Shares

राजविराज — टाउन प्लानिङअनुसार बसाइएको सप्तरीको राजविराजमा अन्ततः ८५ वर्षपछि व्यवस्थित बसपार्क सञ्चालनमा आएको छ। लामो समयदेखि प्रतीक्षित रहेको यो बसपार्क चौथो पटक शिलान्यास र छ पटक म्याद थप गरेपछि निर्माण सम्पन्न भएको हो।

राजविराज नगरपालिका–२ राजदेवी चोकमा निर्माण गरिएको बसपार्क बिहीबार कार्यवाहक नगरप्रमुख ईसरत परविणले उद्घाटन गरेसँगै सञ्चालनमा ल्याइएको हो। नगर प्रवक्ता तथा वडाध्यक्ष जयनारायण मण्डलका अनुसार बसपार्क सञ्चालनमा आएपछि सहरको ट्राफिक व्यवस्थापन सहज हुने र नगरको सौन्दर्य पनि बढ्ने अपेक्षा गरिएको छ।

राजविराज सहर सन् १९४० (वि.सं. १९९७) मा योजनाबद्ध रूपमा बसाइएपछि नै बसपार्कको आवश्यकता महसुस गरिएको थियो। तर, समयक्रममा विभिन्न नाममा शिलान्यास भइरहे पनि निर्माण कार्य भने अलपत्र रहँदै आएको थियो। बसपार्क नहुनुका कारण मुख्य सडक र चोकमा नै बसहरू पार्किङ हुने, सहर अव्यवस्थित देखिने र ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको थियो।

बसपार्क निर्माणका लागि पछिल्लो पटक सघन सहरी तथा भवन निर्माण आयोजना, राजविराजले २०७४ पुस १९ गते सिनर्जी बिल्डर्स प्रालि, काठमाडौँसँग सम्झौता गरेको थियो। कर बाहेक कुल लागत १६ करोड ३८ लाख रुपैयाँ भए पनि भेरिएसनपछि अन्तिम लागत १५ करोड ६० लाखमा निर्माण सम्पन्न भएको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिए। ठेक्का अनुसार २०७७ पुस १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो।

यो बसपार्क सधैं चुनावी एजेन्डा, घोषणापत्र र नेताहरूको आश्वासनमा सीमित रहँदै आएको थियो। २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले त्यही स्थानमा वीरेन्द्र हरित उद्यानको शिलान्यास गरेका थिए। तर, उद्यान निर्माण नभएपछि २०५२ सालमा तत्कालीन नगरप्रमुख शैलेश चौधरीको पहलमा बसपार्क निर्माणको प्रयास थालिएको थियो। त्यसपछि २०७४ माघ २६ गते नगर प्रमुख शम्भुप्रसाद यादव र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले चौथो पटक शिलान्यास गरेपछि मात्र निर्माण प्रक्रिया तीव्र भएको थियो।

५ विघा ६ कठा ४ धुर क्षेत्रफलमा फैलिएको बसपार्कमा तीनवटा प्रमुख ब्लक छन्। यहाँ सोधपुछ कक्ष, मुख्य गेट, टिकट काउन्टर, प्रतीक्षालय, शौचालय, पसल, रेस्टुरेन्ट, मिनी मार्केट, गार्ड हाउस र सर्भिस सेन्टरजस्ता सुविधासहितका संरचनाहरू निर्माण गरिएको छ।

बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरवासीको दशकौं लामो प्रतीक्षा अन्त्य भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार