Logout

कोशी प्रदेशमै पहिलो पटक देवानगञ्ज गाउँपालिकाद्वारा भूमिहीनलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण

8.6k Shares

सुनसरी । कोशी प्रदेशमा पहिलोपटक भूमिहीन दलित तथा सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै देवानगञ्ज गाउँपालिकाले ऐतिहासिक पहल सुरु गरेको छ। “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा वडा नं. ३ का ६ जना भूमिहीन सुकुम्बासीहरूलाई प्रमाण–पुर्जा वितरण गरिएको हो।IMG_4247.JPG

राष्ट्रिय भूमि समस्या समाधान आयोग, सुनसरीको समन्वयमा गाउँ कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा स्थानीय सरकारको तर्फबाट भूमिविहीन नागरिकप्रतिको प्रतिबद्धता देखिएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले उद्घाटन मन्तव्यमा सामाजिक न्याय र समावेशीताको आधारमा काम भइरहेको उल्लेख गर्दै भने, “भूमिविहीनलाई जग्गा अधिकार दिनु नै विकासको मुख्य आधार हो। हामी सानो सुरुवात गरेका छौँ तर क्रमशः सम्पूर्ण पालिकाभरि रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्दै जाने छौँ।”IMG_4236.JPG

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देवानगञ्ज गाउँपालिकालाई पहिलो स्थानीय तहको रूपमा प्रमाण–पुर्जा वितरण गरेकामा बधाई दिँदै, आयोग देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभयो।IMG_5523.JPG

विशिष्ट अतिथि तथा आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले भूमिहीनलाई जग्गा उपलब्ध गराउनु सामाजिक रुपान्तरणको नयाँ अध्याय भएको उल्लेख गर्दै भने, “जसको जग्गा छैन, उसले भविष्य देख्न सक्दैन। आजको दिन ती भविष्यविहीनको आशामा उज्यालो बनेको छ।”

कार्यक्रममा आयोगका सदस्य अनिलकृष्ण प्रसाई, उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, सबै वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।IMG_5502.JPG

प्रमाण–पुर्जा पाएका लाभग्राहीहरूले सरकार र गाउँपालिकाप्रति आभार व्यक्त गर्दै आफ्नो जीवनमा नयाँ सुरुवातको अनुभूति गरेका छन्। एक लाभग्राहीले भावुक हुँदै भनिन्, “यो कागज हाम्रो लागि सुन बराबर हो, अब हामीलाई कसैले हटाउन सक्दैन।”IMG_5486.JPG

देवानगञ्ज गाउँपालिकाले आगामी दिनमा पनि जनमुखी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यस कार्यक्रमले न केवल जग्गा स्वामित्व सुनिश्चित गरेको छ, बरु समुदायमा आत्मसम्मान र सामाजिक सुरक्षाको नयाँ आशा पनि जागृत गराएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार