महोत्तरी जिल्ला र आसपासका क्षेत्रहरूमा अत्यधिक वायु प्रदूषणले आमनागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। विशेषगरी औरही नगरपालिकादेखि बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा वायुमण्डलमा देखिएको बाक्लो धुवाँका कारण नागरिकहरूले आँखा पोल्ने समस्या भोग्न परेको छ।
वनमा लागेको डढेलो, किसानहरूले खेतबारीमा जलाएका झारपात, औद्योगिक धुवाँ तथा निर्माण कार्यबाट उड्ने धुलोजस्ता कारणले वायुको गुणस्तर बिग्रिँदै गएको छ। प्रदूषण बढेपछि बिहानै व्यायाम गर्न निस्कने व्यक्तिहरू समेत त्रसित बनेका छन्।
बर्दिवासस्थित शुभ स्वस्तिष्क अस्पतालका प्रमुख दीपक कार्कीका अनुसार, केही दिनयता वायु प्रदूषण अत्यधिक बढेकोले घरभित्रै बस्दा पनि आँखा पोल्ने र हेर्न गाह्रो हुने जस्ता समस्या बढ्दै गएका छन्। यस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्या पनि बढेको उनले बताए।
विशेषज्ञ चिकित्सकहरूका अनुसार, वर्तमान वायु प्रदूषणले श्वासप्रश्वास र आँखासम्बन्धी समस्याहरू बढाएको छ। छाती तथा मुटु रोग विशेषज्ञ डा. सतीशकुमार सिंहले यस प्रकारको प्रदूषणले तत्कालमा खोकी र श्वास फेर्न कठिनाइ हुने समस्या मात्र नभई दीर्घकालीन रूपमा फोक्सोमा क्षति पुर्याउने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउन सक्ने बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागी पनि यस समस्याको एक कारण हुनसक्ने बताए। उनले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीहरूले आवश्यक काम बाहेक बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न र खानपिनको सफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र मुटु तथा मिर्गौला रोगी र कोभिडबाट प्रभावित व्यक्तिहरूलाई यस प्रदूषणबाट जोगाउन अत्यावश्यक भएको चिकित्सकहरूको जोड रहेको छ।
जानकी आँखा अस्पताल जनकपुरधामका निर्देशक डा. आशिष बोहराले बालबालिकामा आँखा रातो हुने र चिलाउने जस्ता समस्याहरू देखिएको बताए। उनले बालबालिकालाई बाहिर खेल्न नदिन र आँखामा पानी नहाल्न सुझाव दिएका छन्।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुमा २.५ पिएम (धुलोका महिन कण) को मात्रा ४० सम्म हुनुलाई स्वस्थ मानिन्छ तर हालको अवस्थामा यो मात्रा धेरै बढेको र हानिकारक स्तरमा पुगेको पाइएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशका अध्यक्ष सोम प्रसाद शर्माले शुद्ध हावामा श्वास फेर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षण गर्न नसके भविष्यको पुस्ताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
वातावरणविद् अशोक यादवले वायु प्रदूषणबाट जोगिन सुरक्षित मास्कको प्रयोग गर्न, बिहान र बेलुकी बाहिर ननिस्कन र खोकी वा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिन सुझाव दिएका छन्।