सुनसरी। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० आजदेखि देशभर सुरू भएकाे छ। सुनसरी जिल्लामा पनि परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन गर्न विभिन्न निकायका प्रमुखहरूले परीक्षा केन्द्रको संयुक्त अनुगमन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापा तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उप अनुसन्धान निरीक्षक तुलसी कट्टेलले परीक्षा केन्द्रहरूको निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले परीक्षाको सहज र निष्पक्ष सञ्चालनका लागि प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनले भने, "परीक्षा निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायहरूले आवश्यक पहल गरिरहेका छन्। परीक्षार्थीहरूले कुनै पनि दबाब वा अवरोधबिना आफ्नो परीक्षा दिन सकून् भन्ने हाम्रो प्राथमिकता हो।"
अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रहरूमा सुरक्षा अवस्था, व्यवस्थापन र परीक्षा सञ्चालनको स्थिति हेरेको थियो।परीक्षार्थीहरूलाई निष्पक्ष र सुरक्षित वातावरणमा परीक्षा दिन प्रोत्साहित गर्दै प्रशासनले कुनै पनि किसिमको अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस वर्षको एसईई परीक्षामा सुनसरी जिल्लाबाट हजारौं विद्यार्थी सहभागी भएका छन्। प्रशासनले परीक्षाको मर्यादा कायम राख्न परीक्षार्थी, अभिभावक, विद्यालय प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर कार्य गरिरहेको जनाएको छ।