
देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाले हरिनगरा बहुमुखी क्याम्पस, हरिनगरामा बिएड अध्ययनरत छात्रछात्रालाई आर्थिक सहायता प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले प्रति विद्यार्थी रू ५,००० का दरले ३० जना विद्यार्थीलाई आर्थिक सहयोग वितरण गर्नुभएको छ।
अध्यक्ष मेहताका अनुसार आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। उहाँले देवानगञ्ज गाउँपालिकाबाट हरिनगरा बहुमुखी क्याम्पस, हरिनगरामा बिएड अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई प्रतिव्यक्ति रू ५,००० सहयोग उपलब्ध गराइने जानकारी दिनुभएको छ।
गाउँपालिकाका अनुसार विद्यार्थी सहायता शीर्षकबाट हालसम्म ३० जना विद्यार्थीलाई कूल रू १,५०,००० वितरण गरिसकिएको छ। यस आर्थिक सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन मद्दत गर्ने विश्वास गरिएकोछ।