
देवानगञ्ज गाउँपालिका, वडा नं-३, नयाँ हाट: श्री राम मन्दिरको प्राण प्रतिष्ठाको दोस्रो वार्षिकोत्सवको अवसरमा देवानगञ्ज गाउँपालिका-३, नयाँ हाटस्थित श्री राम चौकमा भव्य झाँकी कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले उत्साहपूर्वक विभिन्न कार्यक्रम गरी यो दिनलाई पर्वकै रूपमा मनाएका छन्।
कार्यक्रमको आयोजना श्रीराम पूजा समितिले गरेको थियो। समितिका अध्यक्ष बद्रीनरायण मेहताका अनुसार यो दिनलाई दीपावलीजस्तै भव्य रूपमा मनाइएको छ। उहाँले भविष्यमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका उपाध्यक्ष अरविन्द मेहताले हिन्दु धर्मालम्बीहरूको आस्थालाई एकताबद्ध राख्न र संस्कृति जोगाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उहाँले हरेक वर्ष श्रद्धापूर्वक यो उत्सव मनाउने योजनाबारे जानकारी दिनुभयो।
सचिव जयकृष्ण मेहताका अनुसार यो विशेष दिनको अवसरमा मोटरसाइकल र्याली, रात्रिकालीन झाँकी, र दीप प्रज्वलन गरी स्थानीय हिन्दु धर्मावलम्बीहरूलाई भक्तिमय वातावरणमा सहभागी गराइएको थियो। उहाँले यस्ता कार्यक्रमले धर्मप्रति जागरूकता बढाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले गाउँ तथा आसपासका क्षेत्रका बासिन्दाहरूमा ठूलो उत्साह र एकताको सन्देश पुर्याएको छ। हिन्दु धर्मावलम्बीहरूले यो अवसरलाई भगवान श्रीरामप्रति श्रद्धा व्यक्त गर्न र आफ्नो धार्मिक पहिचानलाई मजबुत बनाउन महत्त्वपूर्ण मानिरहेका छन्।