Logout

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहतको माग

962 Shares

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो भएको भीषण आगलागीबाट प्रभावित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि र किसानहरूले नेपाल सरकार तथा मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै पीडित किसानलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने, बीउ, मल र कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण र सुरक्षित कृषि अभ्यासबारे सहयोग गर्न पनि अनुरोध गरिएको छ।

गोडैता नगरपालिकाका प्रमुख देबेन्द्र यादवले आगलागीबाट प्रभावित किसानको अवस्था गम्भीर रहेको बताएर संघ र प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन्। उनले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन खेतबारी तथा बाटो आसपास ज्वलनशील वस्तु नराख्न नगरवासीलाई सचेत रहन सल्लाह दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगो स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानले विद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरेको छ। आगलागीले करिब ५०–६० बिघा उखु बाली नष्ट भएको छ र नगरपालिकाको प्रारम्भिक अनुमानअनुसार करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

ज्ञापनपत्रमा करिब १५० जना किसानले संयुक्त रूपमा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको उल्लेख छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईका अनुसार आगलागीबाट भएको वास्तविक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार