कोलम्बिया विश्वकै सबैभन्दा लामो समयसम्म चलेको आन्तरिक द्वन्द्वबाट प्रभावित मुलुक हो। सात दशकभन्दा बढी समयदेखि हिंसा, सामाजिक असमानता, भूमिको असमान वितरण, कमजोर सरकारी संयन्त्र र अमेरिकी हस्तक्षेपका कारण यो देश अस्थिर छ। सन् २०२२ मा ‘सत्य निरुपण आयोग’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९८५ देखि २०१८ सम्ममा ४ लाख ५० हजार मानिसको ज्यान गएको थियो, जसमध्ये ८० प्रतिशतभन्दा बढी सर्वसाधारण थिए।
द्वन्द्वका कारण अपहरण, जबर्जस्ती बेपत्ता पार्ने र बलात्कारजस्ता घटनाले समाजमा गहिरो प्रभाव पारेको छ। यो द्वन्द्वको असर मृत्यु र हिंसामा मात्र सीमित छैन। आठ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, जसले कोलम्बियालाई सिरियापछि विश्वकै दोस्रो ठूलो आन्तरिक विस्थापनको शिकार बनाएको छ। महिला, बालबालिका, आदिवासी समुदाय र ग्रामीण बासिन्दाहरू सबैभन्दा बढी प्रभावित छन्, र लाखौं मानिस शरणार्थी जीवन बिताउन बाध्य छन्।