उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको पूर्वाधार विकास र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै लगानीका लागि आकर्षक अवसरहरू रहेको उल्लेख गर्नुभयो।
“निजी क्षेत्रबाट लगानी गर्न नेपालमा अनुकूल वातावरण तयार छ। नीतिहरू लगानीमैत्री छन् र लगानीका क्षेत्रहरू पहिचान गरेर योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “सरकार तपाईंहरूको सहयोग र सहजीकरणका लागि पूर्णरूपमा तयार छ।”
उक्त प्रतिनिधिमण्डलमा रहेका लगानीकर्ताहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटन लगायतका क्षेत्रमा लगानीको चासो देखाएका थिए। प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राह लगायतको सहभागिता रहेको थियो।